एक मात्र पाईडले साईकल यात्रीको आत्मकथा
दिवश गुरुङ
फ‍ोटो :- सुशील श्रेष्ठ (टुर डि लुम्बिनी २०१७) 




सुर्योदय नहुँदै सबेरै ठिरिएको चिसोमा साइकलमा हामी घुम्न निस्कियौँ । मेरा साईकलका सहयात्री प्रेरणादायी, संघर्षशील व्यक्तित्व, यमलाल रसाईली जसले एउटै खुट्टाको भरमा नेपालका ३७ जिल्ला लगायत छिमेकी राष्ट्र भारत साईकल यात्रा गरेका यात्री यमलाल दाइ हुनुहुन्थ्यो । साईक्लिङ्गको क्रममा मेरो र उहाँको बिचमा जिवन संघर्ष, अतित, वर्तमान भविष्यका सपनाका बारे अन्तरंगका कुरा भए । आज म उहाँबाट केहि खोतल्न चाहन्थ्यें । मलाई यसै बिच एउटा ओशोको बाणी याद आयो, “मान्छे जिउन त सबै जिँउछन तर यसरी जिउनु कि तिमी अरुका लागी प्रेरणा होस वा तिम्रा हरेक जिवनका पदचापहरु अरुले अनुशरण गरोस् । जसले समाजमा परिवर्तनका भावहरु देखियोस ।“हामी दुई भाई पाईडल घुमाउदै मैले मेरा प्रश्नका पोकाहरु बिच बाटो मै खोल्न थालेँ ।

“दाई तपाईले कहिले सोच्नुभएको थियो, यसरी साइकलमै देश बिदेश घुम्दै अपाङ्गता प्रतिको आम मानिसको धारणा परिवर्तन गर्छु भनेर ?”
उहाँले भन्नुभयो – “लामो कथा छ भाई सायद कहानीको पन्नाहरु कोर्ने भए, एउटा सिनेमा बन्छ होला । हो  मैले बाल्यकलमा दाहिने खुट्टा गुमाउन नपरेको भए थाहा भएन तर जव खुट्टा गुमाए पछि जुन समाजको अवहेलना तिरस्कृतले साइकल चढने एउटा मोड र साहास लिएर आयो । सबै मान्छे पुर्ण कहाँ हुन्छ र भाई केहि न केहि कारणले कमजोर हुन्छ मान्छे । धेरै मान्छे नदेखिने गरेर अपाङ्ग हुन्छ, म त देखिने गरि एउटा खुट्टा मात्र गुमेको हँु नि, अपाङ्ग भएर त के भो हामी पनि सवलाङ्ग जति सक्षम छाँै भनी साईकल चलाउँदै कुनाकन्दरा चहार्दै जनचेतना फैलाउन हिडेँ ।”


“दाई यो पिडा जन्म जात हो कि पछिको घटना हो ?”
“हैन भाई मेरो जन्म २०३४ साल पर्वत मूडिकुवा गा. वि. स. शिशुवामा भएको थियो । ६ वटा सन्तान मध्ये म तेस्रो सन्तानको रुपमा जन्मेको थिएँ । बाल्यकालमा म असाध्यै चन्चले थिएँ । पर्वतबाट भैरहवा बसाई सरेको केही महिनामा चार वर्षको हुँदा मेरो दाहिने खुट्टा ज्यादै सुनिएर मलाई ज्वरो आयो । त्यो बेला अस्पतालमा बिरामीलाई लग्ने चलन थिएन ,गाँउले कै सल्लाह अनुसार वैद्य कहाँ लगेर बासँको काब्राले खुट्टामा बेरेर स्थानीय जडिबुटिको प्रयोग गर्दा नि खुट्टा बिसको उन्नाइस भएन । त्यस पछि अन्तमा उपचारको लागि पाल्पा मिसन अस्पताल पुग्दा, बाँसको काप्राले मेरा खुट्टा कुहिसकेका थिए । केहि सिप नलागे पछि खुट्टा काटेर फाल्नै पर्ने भो ।”
म त एक छिन उहाँकै जिवन कथामा डुब्न थाले, नमिठा थुकले घाँटी थिचे जस्तो भयो । गहिराई अझै बाँकी थियो । “अनि दाई स्कुल जानु भएन ?”

“अ गए ,बैशाखीको साहारामा स्कुल जान्थँे । सबैले मलाई  लङ्गडो, भनेर गिज्याउथ्यो, धेरै पल्ट लडे पनि, साथीहरुको हेला अपमान सहन सकिन अनि  आमालाई स्कुल जान्न भनि सुनाएँ त्यस पछि चार कक्षा पछि मैले स्कुल जान छोडिदिए ।”
बिहान साईकल चलाउँदा चिसो स्वास्थको पर्वाह नगरि फेरि प्रश्न गरे – “अनि त्यस पछि ?”
“के गर्नुु र दिवस भाई, घरायसी काम गर्ने, गाई, भैँसी चराउने । बैषाखी लिएर म दौडदा बाधेका गाईभैंसीहरु तर्सेर उर्पmथे । “एउटै खुट्टा हुँदा त यति उद्युम मच्चाउछ, दुइटै भए त यसले के गथ्र्यो कुन्नि” भनेर मलाई गालि गर्दा मन चसक्कै पोल्थ्यो । दाइको मेकानिक पसलमा रहेका पुराना सामानहरुको गाडी बनाएर खेल्थँे । उमेर हर्लक्कै बढेपछि मेरो चिन्ता  सबै परिवारमा बढ्नु स्वाभाविक थियो । एक त तल्लो जातको मान्छे, त्यहीँ माथि अपाङ्ग । शुभ कार्यहरुमा अपाङ्गले हेर्दा नराम्रो हुन्छ भनेर मलाई शुभकार्यमा जान परिवारबाटै वञ्चित पनि थियो । तर मैले आत्मबल कहिले कमजोर पारिन समाजको लागि मैले केही गरेरै देखाउनुपर्छ, भन्ने अठोट मैले लिएको थिएँ । दाईको सहयोगमा अपाङ्ग संघ कैलाली शाखामा १८ महिना सिलाई बुनाई तालिम गर्ने अवसर पनि प्राप्त भो । २०५५ सालमा प्राइभेट एस. एल. सी पास गरेर पढने सपना पुरा गरेरै छाडेँ ।”

“दाई तपाईको साहस र अठोटलाई सलाम  । जिवनमा अपाङ्ग भएपछि अति हीनता बोध भएको कुनै दिन सम्झना छ ?”
“फाल्गुन चैतको महिना सिलाई बुनाई गरेर घर फर्कदा बाटामा हावाहुरी चल्यो । अरुसँगै ज्यान बचाउन ओत लाउन नजिकै पसल भित्र जान कोशिस गर्न मात्र लागेको थिएँ । पसल मालिकले ‘तिमी भित्र नआऊ, हामीसँग माग्नेलाई दिने पैसा छैन’ भनेर भित्र पस्न दिईएन, त्यो बेला मलाई मनमा साहै चोट पर्यो जिन्दगी देखि हीनता बोध भयो ।”
यति सम्मको बिस्तारमा मलाई मन भरिएर आयो अनि मैले हाम्रा संवादहरुलाई मोडने कोशिश गरे ।
“दाइ तपाईको प्रिय साइकल को कथा पनि सुनम न ?”

(हाँस्दै) “रहरले भन्दा पनि समाजलाई चुनौती दिन या भनम अपाङ्ग पनि कमजोर छैन भनेर देखाउन साईकल चढनुमा पनि बेग्लै कथा छ, दिवश भाई, जुनबेला म धनगडीमा सिलाइ बुनाई गर्न बस्थेँ । प्राय जसो शुक्रबार घर फर्केर आईतबार आफनो काममा फर्कन्थ्येँ । तर एक दिन मिति ठ्याक्कै याद भएन शुक्रबार साँझ काम सकेर घर फर्कदै थिएँ । मलाई सायद लङ्गडो देखेर हो वा के हो थाहा भएन । कहिले पनि एक्लैले बस रोक्दा बस रोकिएन । बस रोकिन पनि  ३।४ जना जम्मा भए मात्र बस चढ्न मौका मिल्थ्यो  । एक दिन खलासीले बसमा सबै जनालाई चढाए तर मलाई बसबाट हुत्याई दिए । झोला बसको झयालबाट फ्याकि दिए । झोलामा भएको बाबा—आमाको फोटो झरयामझुरुम्म फुट्यो । त्यतिबेला शारिरिक चोट भन्दा मानसिक चोट बढि लाग्यो । त्यो दिन म घर जान सकिन । भोलिपल्टको दिन बस नम्बर लिएर जिल्ला प्रशासन कार्यालयमा रिपोर्ट दिई कार्वाहीको माग गरेँ । त्यो बसलाई कार्वाही गर्नुको सट्टा उल्टै यस्तो झिनो मसिनो कुरामा हामीलाई लाग्ने समय छैन, तपाईले बस भाडा त तिर्नुभएन होला भनेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीले उल्टो थर्काए पछि  म निराश बनि फर्किए । त्यसपछि मैले साइकल सिकेँ ।

सिलाई बुनाईको अफिसमा साथिहरु आफना साइकल दिन मान्दैनथे । घरमा भएको दाईको  साइकल कोही नहँुदा साइकललाई सुटुक्क ओरालोमा लगेर म चढ्न प्रयास गर्थेँ । देवे्र खुट्टाको चप्पललाई प्याडलमा बाँधेर खुट्टा राखेर चलाउँदा फिता चुडिए ,दाहिने प्याडिलमा लट्ट्ठी बाँधेर चलाउँदा, कयौं पटक साईकल बाट लडेँ । एकदिन देबे्र प्याडल फुस्कियो । प्याडल फुस्के पछि साइक्लिङ्ग गर्न धेरै सहज भयो । कहिलेकाहिँ दाईले सिटमा बसेर दाहिने प्याडल र म अगाडि बसेर देबे्र प्याडल चलाउँदै साइकल पनि कुँदाए । त्यसपछि दिन प्रति दिन म साइकलमा पोख्त हुन थालँे र  धनगढी —कैलालीको ४० कि.मी. साइकलमै ओहोरदोहोर गर्न थालेँ । पहिला पहिला बैषाखी टेकेर हिड्दा मसँग नबोल्ने मान्छेहरु साइकल चढेको देख्दा छक्क परेर खुसी भएर मेरो साहसको प्रशंसा गर्नथाले । राम्रो प्रतिक्रिया पाउँदा ज्यादै खुसी हुन्थेँ म ।

एकदिन मेरो गुरुले मलाई अमेरिकी नागरिक ट्रम उट्टेकरको जीवनी बारे पत्रिका ल्याएर पढ्न दिनुभयो । उहाँले एउटै खुट्टाको सहारामा सकुशल सगरमाथा आरोहण गर्नु भएको रहेछ । यसले थप उर्जा मिल्यो र म नेपाल टुर गर्ने निष्कर्षमा पुगेँ । घरमा दाइ, बुबा, आमा, परिवार कसैले पनि मान्नुभएन । परिवार मनाउन मलाई झन्दै सात वर्ष लाग्यो । अनि अन्ततः २०५६ साल फाल्गुन २६ गते ‘सेभ द चिल्डे«न’ र ‘काठमाडौँ महानगरपालिका’ले उपहार प्राप्त साइकलबाट मैले नेपाल र भारतको सिमाना गड्डाचौंकी कञ्चनपुरबाट यात्रा सुरु गरेँ । तराई लगायत धरान, काठमाडौँ उपत्यका, गोरखा, कास्की, बेनी, स्याङ्गजा, पाल्पा, बुटवल हँुदै ३१ जिल्ला दुई महिना १८ दिनमा यात्रा सकुशल पुरा गरेँ । हरेक दिन नयाँ नयाँ अनुभव ठाँउ, मानिस, परिवेश, नयाँ हौसला, अनि स्वागत साथै हरेक पाइलामा नयाँ उर्जा प्राप्त हुन्थ्यो । यात्रामा भेटिएका दृष्टिविहिन वा शारिरिक अशक्तता भएका मानिसहरुलाई भेट्दा म रोकिएर उनिहरुलाई मेरो साइकल यात्राको उद्धेश्य अनि भावि लक्ष्यहरु सुनाउथँे, उनिहरुलाई पनि हौसला प्रदान गर्थेँ । नयाँ वर्षमा रौटहटको सुन्दरा पार्कमा फुलेका फुलहरु, चितवनमा बाटामा भेटिएका बा–आमाले घरमै लगेर मही पिलाएको, झापा, धरान, काठमाडौँ, पोखराका साथिहरुको हार्दिकता, माया कहिले बिर्सन सक्दिन ।”

“अनि दाई यात्रा कतिको कष्ठकर थियो त ?”
“बाँके, बर्दियाको घना जङ्गलमा एक्लै छिचोल्नु पर्दा जस्तो डर केहि लागेन । दाउनेको उकालोमा वेगसँग कुँदेर आएको एउटा ट्रकको हावाले साइकल र ब्यागलाई नालीमा खँसालिदियो । गोरखाबजार नजिक ९९ किलो भन्ने टर्निङमा लडेँ । साइकल सडकबाट धेरै तल खँसे । वरिपरिका मानिसहरुले मलाई र साइकल उठाएर बसमा चढाईदिए । उकालोको सास्ती, वर्षात पानीको भिझाई के लेखा जोखा राख्नु र ।
१९९८ को ‘भिजिट नेपाल’ वर्षमा नेपाल यात्रा गर्छु भनि म काठमाण्डौँ पनि गएँ । काठमाण्डाँै मेरा लागी नौलो थियो । त्यो दिन मैले मेरो दाइको साथीलाई सम्पर्क गरेको थिए तर त्यहाँ पनि मलाई धोका भो । एक घण्टा, दुई घण्टा भन्दा भन्दै रात परि सक्यो लिन आएन । नजिकको प्रहरी बिटमा शरण लिन पुगेँ । हातमुख जोड्न र ओत पाउन गाह्रो भयो । भाग्यबस दाङको सिलाईबुनाई गर्ने साथि भेट भयो । म उहाँ संग दिनभर सिलाईबुनाई बेलुकापख विभिन्न सङ्घसंस्था, कार्यालय धाएर राति ब्लड बैंकको कार्यालय सुत्थँे । अन्त्यमा भिजिट नेपाल मेरा लागी त्यत्तिकै खेर गयो ।”

“अझ सम्म कति साईकल प्रतियोगिता या कार्यक्रममा भाग लिनु भयो कि भएन दाई ?”
“टुर डि लुम्बिनी, टुर डि पोखरा, कोरा राइड, हालसालै भारतको अरुणाञ्चल प्रदेशमा छ दिनमा ७३० कि.मी. साइक्लिङ्ग प्रतियोगितामा भाग लिई भारु ५०,०००÷— पुरस्कार जीवनकै ठुलो धनराशि पुरस्कार प्राप्त गरेको थिएँ । भारतमै लक्ष्य साइकल समूहले आयोजना गरेको टेस्टिङ्ग राइडमा सहभागि हुदा दिनमा करिब १२ घण्टा लगाएर २०० कि.मी. पुरा गर्नु चानचुने थिएन । अब भाई एउटा प्याराओलम्पिक साइक्लिङ्गमा भाग लिने लक्ष्य छ । उपाधि जितेर नेपाललाई चिनाउने रहर छ । तर पुर्व तयारीकै लागि भारतमै ट्रेनिङ्गको लागि लाग्ने लाखौँको खर्च मेरा लागि पहाड बनेर आएको छ । साइकल पर्यटनको बिकाससंगै केहि सपना पनि पालेको छु । जस्तै शारीरिक अशक्तहरुलाई सहयोग तथा उत्थान गर्न अपाङ्ग अक्षय कोष खडा गर्ने ।


“अन्त्यमा दाइ तपाई साईकललाई यति धेरै प्रेम गर्नु भयो । जिवनमा आफ्ना लागी प्रेम अंकुराएन ?”
अघि सम्मको मलिन अनुहार उज्यालो पार्दै मुसुक्क मुस्कुराउदै, “सिलाइबुनाइकै क्रममा मेरो उनीसँग प्रेम बस्यो । प्रेमलाई जिवन संगिनीको दर्जा दिएँ । अहिले एउटा छोरा र छोरी छ । उनी पनि शारिरिक अशक्त हुन । अहिले म  सिलाइबुनाइ तालिम पनि दिन्छु पसल पनि चलाउछु, उनिले घरिघरि सहयोग गर्छिन । बस ६÷७ जना ब्यक्तिलाई रोजगार पनि दिएको छु ।”
“अन्त्यमा दाई तपाईका सपना पुरा होस् । तपाई सबैका लागी प्रेरणा बन्नोस् । जय साईकल ।”
यत्तिबेर कुरा गर्दा कैलाली लम्की बजारबाट १८ कि. मी. दक्षिण टिकापुर पार्क आईपुगेको थाहै भएन ।
साहसिक साइकल यात्री यमलाल दाइ यहि जेठ ४ गतेका दिन देखि कैलाली लम्कीबजारबाट “अपाङ्गता नागरिकहरुको समावेशी, समान समाजको सुनिश्चिता” भत्रे सन्देश लिएर १३ दिने एकल रारा साइकल यात्रा पुरा गर्नुभयो । पक्कै रारा खुसी भईन होला साहसिक दाईको साहस देख्दा । इतिहास बन्यो एउटै खुट्टामा साइकलमा रारा पुग्ने पहिलो साइकले भएर । तपाईको प्यारा ओलम्पिकको साइक्लिङ्ग सपनाहरु पुरा होऊन् ।
शुभकामना दाजै ।
जय साइकल ।।