चेपाडगाउँको कारुणिक सम्झना



दिवश गुरुङ, पोखरा
सन्तमान दाईसगँ उहाँको घरमा 


माघ महिनाको पहिलो हप्ता, बिहानीको चिसो मौसम, उस्तै आड काप्ने सिरेटो, झिसमिसेको उज्यालैमा पुग्यौं हामी, म र पत्रकार एकल सिलवाल । खरको छाना, वरिपरि स्याउलाको पर्खाल अनि काठले घेरेको घर । हेर्दा घर जस्तै नलाग्ने, लाग्दो हो कुनै गोठ तर यो नै एउटा महल थियो सन्तमान दाई र उहाँको ७ जनाको परिवारका लागि । घरबाहिर कुखुराका चल्लाहरुको चिउचिउ आवाज सुनिएको थियो । न झ्याल न ढोका । तीन दिन चितवन जिल्लाको लोथर गाविस वडा नं ९, कान्दाको अति सिमान्तकृत चेपाङ बस्तीमा ‘आइडियाज फर सियाम सी’ ले आयोजना गरेको हेल्थ क्याम्पे कार्यक्रमको अन्तिम दिन चेपाङबस्तीको कारुणिक यथार्थ बुझ्न हामी गाउँ हिँडेका थियौँ ।



म सगैँ गाउँ घुम्न निस्कनु भएका एकल सिलवाल सर मितेरी फाउन्डेसनका संस्थापक हुनुहन्थ्यो । पत्रकार एवमं सामाजिक अभियानकर्ता उहाँ यस चेपाडबस्तीको उत्थान अनि सामाजिक रुपान्तरणमा लागेको धेरै भइसकेको रहेछ । सबैका प्रिय उहाँ सबैमा परिचित एक व्यक्तित्व । घर भित्र अगेनाको वरिपरि भुइँमा सातजना परिवारका सदस्यहरु सुतिरहेका थिए । सिलवाल सरले सन्त बहादुर दाईलाई बोलाउनभयो । थकित मुदामा उठ्दै उहाँले भन्नुभयो, ‘तपाईहरुसगँ भेटेरिनरीका सरहरु पनि आउनुभएको खबर पाएँ, त्यसैले गाई, गोरुलाई जगंलबाट राति १ बजे ल्याएर मात्र सुतेको हँ । हामीबीचको कुराकानीले उहाँका श्रीमती र पाचँ सन्तानहरु उठिसकेका थिए । चिसो भुइँ, न केही ओछ्याइएको थियो न ओढ्ने केही । कलिला साना दुई सन्तानको आडमा एकसरो पातलो लुुुुुगा मात्र थियो । मचाहिँ ज्याकेट, जुत्ता, टोपी, पञ्जा अनि न्यानो गलबन्दीमा त्यहाँ पुगेको थिए । ती अबोध बालकको नांगो आङ देख्दा मेरो आङ सिरिङ भयो । माघको कठ्याङग्रिदो जाडोले न्यानो खोज्दै कान्छो छोरो आमाको काखमा लुट्पुटिन पुग्दाको दृश्य हृदयविदारक लाग्यो । सञ्चो विसञ्चो कुरा सोधिएपछि एकल सरले ‘घर किन नबनाउनु भएको’ भनेर प्रश्न गर्नुभयो ।


कारुणिक रुपमा उहाँले जवाफ दिनुभयो, ‘के गर्नु सर, ठूलो छोरो पोहोर साल मलेसिया गइहाल्यो, आइमाइ केटाकेटीले काठको काम गर्न सक्दैनन्, म एक्लैले के नै पो गर्न सक्छु र ? जेनतेन यो वर्ष जाडो त यसैमा काटिन लाग्यो तर अबको बर्खा पो कसरी काट्ने ?’ खुइया गर्दै शिरको पुरानो टोपी निकाल्दा उहाँको खुइलिएको ताल्ु प्रष्ट देखिएको थियो तर कसले देख्लान् वर्षौ देखिका उहाँका दुःख अनि पीडाहरु ?
१ लाख ९० हजार ऋण काढेर जेठो छोरालाई विदेश पठाएको तर अझैसम्म कुनै रकम विदेशबाट छोराले नपठाएको तीतो यथार्थ उहाँले सुनाउनुभयो । गफगाफकै क्रममा मैले ७ जना जहान परिवार बस्ने त्यो झुप्रो नियालेँ । वरिपरि घरको पर्खाल थिएन, केही दाउरा अनि स्याउलाले मात्र बारेको थियो, तर यस्तो लाग्थ्यो सजिलै हावा भित्र बाहिर आउन – जान सक्थ्यो । एउटै कोठा, त्यही कुनामा सानो अगेनो, अगेनाका छेउमा पुराना भाँडाकुडाँ, डोरीमा झुन्डाइएका धुवाँले पुराना बनाएका केही जोर लुगाहरु, बस यति थियो त्यो कोठामा । मैले एक नजरमै सारा कुराहरु नियाल्एर अनुमान लगाउन भ्याए, उहाँको पारिवारिक अवस्था कस्तो छ भनेर । देख्दा लाग्थ्योे कुनै बारीको कुनामा बनाइएको अस्थाथी टहराजस्तो ।
चिसो मौसम अनि मीठो बातहरु


घरलाई मसिनो गरी नियालेपछि मैले उहाँलाई सोधेँ, ‘हिजो बेलुका के पाक्यो त सन्त दाई भान्छामा ?’
हिजो बेलुका ढिडो र सिस्नु खाएँ सर । त्यो पनि कहाँ सधैं कहाँ पाइन्छ र ? उब्जेको मकै र कोदो पनि ३÷४ महिना भन्दा बढी हुँदैन । त्यसपछि त पुरै भर गिठ्ठा, भ्याकुर, तरुल अनि सिस्नुमै हो । मैले उत्सुकताका साथ उहाँलाई सोधे, ‘भातचाहिँ अन्तिम पटक कहिले खानुभयो त दाई ?’ उहाँलाई त्यो दिन सम्झन अलि समय लाग्यो । सायद भात नखाएको हप्तौं वा महिनौं भएको हुनपर्छ । ‘भात त दसैं अनि पाहुना आउदाँ मात्र खाने हो सर, अरु बेला त कहाँ खाना सकिन्छ र ? बजारबाट चामल किनेर ल्याउने पैसा छैन, यहाँ उब्जनी ह्ुँदैन ।‘ मसँगै त्यही रहेका सिलवाल सरले भन्नुभयो, ‘याद छ सन्त दाई, ३÷४ वर्ष पहिला म यहाँ आउँदा जुका मार्नका लागि नुन मागेको थिए, तर नुन खानलाई त्यो समय दसैं वा चाडपर्व कुर्ने गर्छौ । गाउँ सम्म नुन ल्याउँदा एक किलोको ५ सय हाराहारी लाग्छ अनि कहाँ हामी नुन खान सक्थ्यौं’ भनेर तपाईले भन्नुभएको थियो नि । बिगतका तिता यीे कुराहरु सुनेर सन्त दाई एकछिन भावुक हुनुभयो । हामी भने दसैं अनि चाड पर्व आउँदा खसी काट्ने सोच्छौँ भने उहाँहरु नुन अनि एक छाक भात खाएर दसैं मनाउँदै छन् अझै । म अचम्ममा परे ।

सन्त बहादुर दाई त्यस कान्दा गाउँको सबैभन्दा शिक्षित रहेछन् । उहाँले आफ्नो बिगत बाल्यकाल स्मरण गर्दै भन्नुभयो, ‘हाम्रो पालामा न स्कुल थियो, न पढ्ने ठाउँ नै । जेनतेन त्यो बेलामा म पनि पाचँ कक्षासम्म पढें । कति दिन त लालीगुराँस कै रस चुसेर पनि बाँचेको याद छ । अहिले त यहीँ स्कुल खुलेको छ, हामीले त दुःख पायौं, पायौं, जेनतेन अब यी छोराछोरीलाई पढाउन सके, यही मै खुसी हुनेछु सर ।’



ठूलो परिवार देखेपछि मैैले उहाँलाई सन्तानको बारेमा सोधेँ । ११ वटा सन्तानहरु मध्ये ३ वटा बितेछन्, अहिले ८ जना रहेछन् उहाँको । ‘त्यति बेला के थाहा त्यस्तो परिवार नियोजनको बारेमा । मैले पनि भ्यासेक्टोमी गरेको तीन वर्ष भयो, तर त्यस अप्रेसनपछि ढाड दुख्ने अनि उकाली ओराली गर्न समस्या भएको छ । अब परिवार पो कसरी पाल्ने, भारी बोकेर नि अब खान सक्दिन सर ।’ उहाँले दुखेसो पोख्नुभयो ।
यो उहाँको मात्र व्यक्तिगत समस्या भने रहेनछ । त्यस कान्दा गाउँका प्राय सबै विवाहित र धेरै सन्तान भएका पुरुषको भ्यासेकटोमी गरिएको रहेछ । अति सिमान्ताकृत यस्तो चेपाङबस्तीमा जनचेतनाको अभाव, भौगोलिक विकटता, कमजोर शैक्षिक अवस्था र जमिनको कमजोर उर्वरशक्ति मुख्य चुनौतीका रुपमा रहेछन् ।


 उहाँले त्यही लोथर गाविस कान्दामा वि.सं २०६७ जेठ १४ गते विषालु च्याउ खाएर त्यहाँका स्थानीय बासिन्दा बाबुराम प्रजा र उनका ८ सन्तानहरुको मृत्युका मर्मस्पशी दुखद र कारुणिक कथाले आखाँ ओभायो । मन गर्हौ भए । खानेकुरा नपाएपछि बाध्यताले विषालु च्याउलाई तन्त्रमन्त्र लगाएर विष हटाएर खान सकिन्छ भन्ने अन्धविश्वास मानेर च्याउ खाँदा यस्तो घटना घटेको रहेछ । विषालु च्याउ खाएर मर्नु रहर हैन बाध्यता हो यहाँका मानिसहरुका लागि । अझैसम्म पनि न यहाँ सडक पुगेको छैन, न त उपचारका लागि स्वास्थ्य चौकी नै बनेको छ । कोही गाउँमा बिरामी परे दिनभर बोकेरै भण्डरा अनि त्यहाँबाट ३÷४ घण्टाको बसयात्रापछि मात्र चितवन हस्पिटल ल्याउन सकिने रहेछ । कति बिरामी त हस्पिटलको मुख पनि देख्न नपाई बाटैमा बित्ने रहेछन् । चितवनजस्तो सुगम मानिने जिल्लामा पनि यस्तो ठाउँ छ र ? म एकछिन सोचमा घोत्लिन पुगे ।

२÷४ दिन खाना नखानु त्यहाँका बासिन्दाकालाई नौलो कुरा नहुँदो रहेछ । आफ्ना ८ सन्तानलाई हुर्काउनुपछिका उहाँका पीडादायी कथाहरु कारुणिक थिए । मर्माहत भए म । जाडोमा चिसो, गर्मीमा घाम अनि पानी पर्दा ओत लाग्ने राम्रो घर थिएन उहाँको, न त पेटभरि परिवारलाई खुवाउने अन्न । पेटभरि खानलाई त चाडपर्व नै कुर्नु पर्ने अवस्था थियो उहाँको । आङभरि न्यानो लुगा थिएन कलिला बालकहरुको । छोराले विदेशबाट कमाएर पठाएको पैसाले घर बनाउने र छोराछोरालाई मिठो मसिनो खुवाउने उहाँको सपना सपनामै सीमित रहे । उहाँको जस्तै यहाँका धेरै कान्दाबासीको कथा फरक होलान् तर पीडा उही छ, भोगाई उस्तै अनि पीडा उस्तै । कल्पनाबाहिरको यर्थाथता ।
करिब ११६ घर धुरी भएको गाउँ हो कान्दा गाउँ । चेपाङ जातिको बस्ती । र्निदोष अनि आत्मीय थिए कान्दाबासीहरु । जति स्ुन्दर त्यहाँका मानिसहरु पाएँ त्यति सुन्दर लाग्दैनन् यो ठाउँ यहाँका मानिसहरुलाई । एउटा घरबाट अर्को घर पुग्न १÷२ लाग्छ । राम्रो उब्जनी हुदैन यहाँ । जेनतेन उब्जाएको अन्नले ३÷४ महिना पुग्ने त्यो पनि असिना पानीले नखाए । भौगोलिम विकटता, स्वास्थ्य, यातायातको अभाव, अशिक्षा अनि बेरोजगार यहाँको चुनौती रहेका छन् । यसैसगँ पौठेजोरी गर्दै अगाडि बढीरहेका छन् सिङ्गो कान्दा अनि ।

अहिले भने शिक्षाको क्षेत्रमा केही सकरात्मक पाइला चालिदैँ रहेछ यहाँ । शिक्षाको अबसर त्यहाँ रहेको एक मात्र कान्देश्वरी प्राथमिक विद्मालयले दिदैँछ । केही वर्ष पहिलेको अवस्था र्ददानक रहेछ । भर्ना भएका ८० विद्मार्थीहरुमध्ये जम्मा १५÷२० जना मात्र विद्मालय आउथेँ रे । विद्मालय पोसाक अभाव, भौगोलिक कठिनाई र जंगलमा कन्दमूल अनि तरुल खोज्न जानुपर्ने बाध्यताले बालबालिकाहरु विद्मालयमा नआउने गरेको प्रार्चाय बालकृष्ण थपलियाले भन्नुभयो । तर अवस्था अहिले धेरै फेरिएको रहेछ । लक्ष्मी प्रतिष्ठान नामक संस्थाले एक वर्षअघि छात्राबास बनाएको रहेछ । हाल १ सय ६ जना बालबालिकाले खाने, बस्नेदेखि लिएर पठनपाठनका साम्रगी अनि पोशाकको सुविधा उययोग यहाँबाट गर्न पाएको होस्टल इन्चार्ज मनोज श्रेष्ठले बताउनुभयो । यसलाई त्यस क्षेत्रकै शिक्षाको कोसेढुङ्गा ने मानिएको छ । कान्दा गाउँ रुपान्तरणका लागिपर्ने अर्को एक संस्था मितेरी फाउन्डेसन पाएँ । यसका संस्थापक मसगँै सन्तमान दाईको घरसम्म र चेपाङ बस्तीको अवस्थाबारे प्रकाश पारिरहनु भएका एकल सिलवाल ने हुनुहुन्छ । उहाँको त्यस संस्थाले चेपाङबस्तीको उत्थान र रुपान्तरणमा गरेको योगदान अतुलनीय लाग्यो । तर अझै त्यहाँको अवस्था दर्दनाक नै छ, आधारभुत नैसर्गिक अधिकारबाट वञ्चित त्यहाँका बासिन्दाको उत्थानका लागि नेपाल सरकारलगायत विभिन्न संघसंस्थाको सक्रिय भुमिकाको खाचोँ छ ।

चितवनजस्तो सुगम मानिने जिल्लामा पनि यस्तो दर्दनाक अवस्था मैले कल्पनै गरेको थिइँन । उहाँका दुई फुच्चे भाईहरुलाई चकलेट खानु भनी १०÷१० हातमा दिदाँ मुहारमा रौनक्ता छायो । घरबाट निस्कदै गर्दा केही सयका रुपैँया एक छाक भात खानु भनेर सन्तमान दाईको हातमा थमाइदिए । सायद एक छाक भात धेरै पछि भान्छाका पाक्दा कति खुसी भए होलान् परिवार ? निधारभरि चामलको टीका लगाएर दसैं मनाउने हामीलाई के थाहा, उनीहरु एक छाक भात खान दसैं कुर्नुपर्छ भनेर । आखिर बाँचेकै छन् उनीहरु, चाल्दैँ छनै संघषका हरेका पाइलाहरु । कुनै दिन गाउँसम्म मोटर पुग्दा कति रमाउँछन् होला है कान्दाबासीहरु ? गाउँमै स्वास्थ्य चौकी बनेको दिन कति बिरामीले गाउँमै उपचार पाउँछन् होलान् है ? हरेक दिन भान्छामा भात पाकेको दिन आउलान नि कुनै समय ? यस्तै प्रश्नहरु मनभरि खेलिरहेको थिए । तीन दिनको कान्दा बसाईपछि पोखरा फर्कदा पनि मन भनै उतै थियो । आखाँको वरिपरि आइरहन्थे ती अबोध बालकहरु तस्वीरहरु । हो कान्दामा सकरात्मक परिर्वतन भएको दिनको पखाईमा छु । आशावादी छु पक्कै एक दिन कान्दामा उज्यालोको दियो बल्नेछ ।


आउनेछ्ु प्रिय कान्दा तिम्रो आगनँमा फेरि म ।

Post a Comment

0 Comments