टुर दी लुम्बिनी २०१८



दिवस गुरुङ
फोटो :- सुशील श्रेष्ठ 

साइकलमै बुद्धजयन्ती मनाउन काठमाडौंदेखि लुम्बिनीसम्मको यात्राको कुरा चियापसले दिदीलाई सुनाउँदा उहाँ छक्क पर्नुभयो । ‘यस्तो गर्मीमा के जोश लागेको हो नि बाबुहरूलाई,’ मुसुक्क हाँस्दै यात्राको शुभकामना दिनुभयो ।निर्धारित समयमै स्वयम्भुमा पुग्दानपुग्दै एकै छिनमै मैदानमा भरिभराउ भए एउटै टिसर्ट, हेल्मेट अनि झोलामा साइकलेहरू । कोही पुरानै मुहारहरू त केही नयाँ । कोही स्वेदेशी त कोही विदेशी पाहुनाहरू ।
२०६९ सालदेखि बुद्ध जयन्तीको अवसरमा ‘टुर डि लुम्बिनी’ नामक साइकल ¥याली आयोजना हुँदै आएको छ । टुर दी लुम्बिनी प्याडल फर पिसले कार्यक्रम आयोजना गर्ने गरेको छ । स्वदेशीलाई ४ हजार ५ सय र विदेशीलाई १२ हजार रुपैयाँ प्रवेश शुल्क लाग्छ । यसैमा चार दिनको खाना, बस्न, टिसर्ट , इन्स्योरेन्सको व्यवस्था पनि छ । बौद्धनाथ भगवान् पाउँमा लामाबाट अष्ठमंगल पाठ गरेपश्चात् साइकल ¥यालीको उद्घाटन भयो । मेघ आलेजीले टुर दी लुम्बिनी र साइकलको महŒवलाई प्रकाश पार्नुका साथै देवेन्द्र बस्नेतले साइकल ब्रिफिङ र अपनाउनु पर्ने सतर्कतामा जोड दिए ।
बिहानको ब्रेकफास्टपश्चात सबै साइकलेहरू आआफ्नो साइकल चेकजाँचमा लागे । साइकल यात्रामा हौसला दिन नायक निखिल उप्रेती उपस्थित थिए । नेवारी सगुन र आशीर्वाद ग्रहणपश्चात् करिब सय साइकलेको लामो ताँती विश्व साइकल यात्री पुष्कर शाहकोे अगुवाइमा सुरु भयो । कलंकीको जामलाई पन्छाउन साइकलको लामो ताँती लागियो, नैकाप, गुर्जुधारा हुँदै चन्द्रागिरि केबलकार स्टेसनमा ।



त्यसपछि करिब एक घण्टाको ओरालोबाटोमा साइकल कुदाउँदै चितलाङको फाँटमा पुग्दा ढकमक्क उब्जाएका बेमौसमी तरकारीको मनमोहक दृश्यले मनलाई आनन्द दिलायो । उस्तै हँसिला र मिजासिला थिए, बाटामा देखिने मान्छेहरू । सिमसिमे पानीमा रुज्दै लागे साइकलेहरूको ताँती ऐतिहासिक कुन्घाल गाउँ हुँदै पालुङ बजार । उकालो बाटो अनि उस्तै थकानलाई चट्ट बिसाइदियो, शिखलकोटको स्वागतले ।
त्यसपछि दामन हुँदै सिमभन्ज्याङसम्म्को करिब १२ किमी उकालो बाटो लागियो । चिटचिट पसिना बगाउँदै, कहिले साथीभाइसँग गफगाफमा मस्त रम्दै त कहिले ढकमक्क फुलिरहेका लालीगुराँस टिप्दै, पाउदान चलाउँदै दामन पुगेको पत्तै भएन । नसक्नेलाई टिमले गाडीमा ल्याउँदा हामी सीमभन्ज्याङ पुगेर आराम गर्दै थियौं । टिमको अगुवामा निश्मा श्रेष्ठ, पछि परेकालाई उत्साह दिँदै ल्याउने जिम्मा गोपाल दाइ अनि देवेन्द्र दाइ । ठाउँठाउँमा फोटो कैद गर्दै थिए फोटो पत्रकार सुशील श्रेष्ठ । करिब ४० किमी ओरालो बाटोमा साइकल कुदाउँदै राति अबेला नौ बजे पुगियो हेटौंडा । आजको बास सिमा होटलमा । खाना खाएर थकित ज्यान कति बेला निदाइएछ, पत्तै भएन ।



दोस्रो दिन बिहानै ब्रेकफास्ट लिएर सबै आआफ्नो साइकल चेकजाँच गर्न लागे । कोही पन्चर टाल्न, कोही ब्रेक प्याड फेर्न त कोही हावा थप्दै थिए साइकलमा । आजको दिनको ब्रिफिङ गरेपश्चात् लाग्यांै, हामी हेटौंडाबाट ९ जना थपिएका साइकलेसँगै । राप्ती पुलैमा पानी मज्जाले बर्सियो । सायद हाम्रै स्वागतका लागि होला । मसँगै पोखराबाट आएका ७१ वर्षीय अमेरिकी नागरिक डेबिडको साइकल क्रेजको प्रशंसक धेरै थिए । थाई, बेलायतका नागरिकाको पनि उपस्थिति थियो । काठमाडौं, पोखरा, हेटौंडा, बुटवल अनि उदयपुरका साइकलेहरूको जमघट थियो ।
बिहानीको शीतल मौसममा कुदिरहेका साइकलेको लाम देख्दा बालबच्चादेखि बूढाबूढीसम्म अचम्म मान्दै हामीसम्म आइपुग्थे । कोही नमस्कार गर्थे त कोही चियर अप । विभिन्न ठाउँमा इलाका प्रहरी, सेना, स्थानीयको हौसला पस्किएका मुस्कानले ऊर्जा मिलेको थियो मनमा । अनि मेटाए तिर्खा पानी, जुस अनि काक्रोले । सबैभन्दा कान्छो साइकले १४ वर्षीय अजय बस्नेत सबैको आकर्षणको केन्द्र बिन्दु । मकवानपुर कट्न नपाउँदै लोथर अनि वीरेन्द्रनगर चितवनमा वाणिज्य संघको उस्तै आत्मीय स्वागत अनि हार्दिकता । खानाका लागि खुरखुरे फार्ममा स्थानीय वासिन्दाले नियारोको पातमा मिठो खाना, कटहरको तरकारी, काँक्राको अचार, नारायणीको माछा टन्न खुवाए, दही अनि बेलको जुस उस्तै स्वादिलो । राप्ती नगरपालिका प्रमुख, उपप्रमुख, स्थानीय समाजसेवी हरि सिलवाललगायत स्थानीय वासिन्दालाई भित्रैबाट धन्यवाद दिँदै चितवनको गर्मीको परवाह नगरी नारायणघाट पुग्यौं ।


अनि मुख मिठ्यायौं, नारायणघाटैमा राम मिष्ठान्न भण्डार र भेटघाट रेस्टुराको स्वागत अनि मिठाइले । अनि सरिक भयौं, साइकल व्यवसायी संघ चितवनको स्वागत अनि शुभकामना कार्यक्रममा र विश्व साइकलयात्री तथा टुर दी लुम्बिनीका अध्यक्ष पुष्कर शाह, महिला साइकलिस्ट इन्दिरा राणालगातयलाई मायाको चिनोसँगै अध्यक्षले राष्ट्रिय झन्डा पुष्कर शाहलाई हस्तान्तरण गरे । २० किमी यात्रालाई छिचोल्दै राजमार्गबाट २ किमी दक्षिणमा रहेका आजको गन्तव्य स्थल पिप्रहर सामुदायिक होमस्टे, देवचुली नपा–१७, नवलपुर नवलपरासी पुग्यौं । सामुदायिक भवनको गेटैमा मौलिक वेशभूषामा सजिएका महिलाको फूलमालाको स्वागत अनि सत्कारले थकान चटक्कै बिर्सायो ।

एकैछिनको थकान मेटाइ पछि हामी होमस्टेमा पुग्यौं । चिटिक्क परेका कोठाहरू, सफा, चिरिचट्ट व्यवस्थित भित्रको सजिसजावट, उस्तै स्वादिष्ट थारू परिकार अनि स्वागत खाएर सांस्कृतिक कार्यक्रममा सरिक हुन पुग्यौं । क्रोमटोन एप्लायन्सको प्रायोजन गरेको टुर दी लुम्बिनीको केक जस्तै स्वादिला थिए, त्यहाँ पस्किएका थारू, मगर अनि गुरुङ नृत्यहरू । अबेर ११ बजेसम्म माहोल तातिरह्यो नचाहँदानचाहँदै सबै लागे सुत्न आआफ्नो होमस्टेमा ।
तेस्रो दिन बिहानै चिया अनि खाएको थारू विशेष परिकार (चिचर) विशेष लाग्यो । होमस्टेबाट गह्रांै मन लिएर बिदा पछि सामुदायिक भवनमा भेला भयौं । सामुहिक ब्रिफिङ अनि वार्मअपपश्चात् लामबद्धमा सामुदायिक प्राकृतिक चिकित्सालय पुग्यौं । प्राकृतिक चिकित्सा र योगको महŒव अनि यसका सफल चिकित्सा पद्धतिबारे बुझ्ने अवसर मिल्यो । ६ बिघा जमिनमा अर्गानिक खेती गरेर एकपटकमै २५० जना बिरामीलाई स्वास्थ्य उपचारबाट लाभान्वित हुँदा रहेछन् यहाँ । न्यानो स्वागत अनि यस ज्ञानवद्र्धक जानकारीका लागि धन्यवाद थिए, पुष्कर दाइले ।रोमाञ्चक मात्र होइन, राजमार्ग यात्रा । उत्तिकै जोखिमपूर्ण पनि । तीव्र गतिमा गुड्ने गाडीले के वास्ता दिँदा हुन र साइकललाई धन्न साइकलेको सुरक्षाका लागि स्वयंसेवक दाइहरूको साथ थियो ।
गैंडाकोट, कावासोती हुँदै दुम्कीबास पुगेर सबै विश्राम गरे । पारिलो घामको तापलाई सजिलै पचायो ज्यानले । गफगाफ अनि किस्साले थकान मेट्दै दाउन्नेको ७ किमी उकालो काट्दा आनन्दको आभास मिल्यो । नसक्नेलाइ रेस्क्यु गरियो, कसैलाई बसमा त कसैलाई भ्यानमा । खाना खाँदै गफिए साइकलेहरू । कोही वियरको चुस्कीमा रम्दै थिए । बिस्तारै थकान मेटेपश्चात् ओरालोको मज्जा लिँदै बर्दघाट पुगियो, साइकलेको लाम । बाटैमा भेटिए झापा भद्रपुरबाट लुम्बिनी साइकलयात्रा गरेर फर्केका महेशसिंह दाइलाई । हामीसँगै मिसिनुभयो उहाँ पनि ।


अन्तिम दिन बुद्ध जयन्ती । बिहानै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल कार्यसमिति, लुम्बिनीको स्वागत कार्यक्रममा सरिक भयांै । जुस, पानी अनि बिस्कुटसँगै आतिथ्य सत्कार । त्यसपछि टोली पूर्वपश्चिम राजमार्ग हुँदै साल्घारी, बुटवल पुग्यौं । बाटैमा लिन आए, शुभकामना आमा समूहको टोली । फूलमाला, खाँदाको स्वागत गरे ।

लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा हामीलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले स्वागत एवं बधाई दिनुभयो । औपचारिक कार्यक्रमपछि खाना खाएर हामी मायादेवी मन्दिर गयौं । बुद्धको जन्मस्थान अवलोकनपछि लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महŒवबारे प्रकाश पारियो । चौरमा गुरुद्वारा ध्यान कार्यक्रममा सरिक हुँदा मन चंगा भयो । धीत मरुन्जेल विभिन्न राष्ट्रले बनाएका गुम्बा अवलोकनसँगै तस्बिरहरू कैद गरे । साँझ सबै बुद्धमाया गार्डेन एन्ड रिसोर्टमा जम्मा भए । आआफ्नो साइकललाइ प्याक गरेर बसमा लोड गरियो । बेलुकाको रात्रिभोजमा सरिक भएर औपचारिक रूपमा कार्यक्रम समापन गरियो । अर्काे वर्ष फेरि बुद्धजयन्ती मनाउन लुम्बिनी साइकलमा आउने वाचासँगै काठमाडौं फर्कियौं । जे होस्, यस टुर दी लुम्बिनी सफलातापूर्वक सम्पन्न भयो । यसले धेरैमा साइकलिङप्रति पक्कै राम्रो प्रभाव पा¥यो नै होला । जय साइकल †

Post a Comment

0 Comments