दिवस गुरुङ
![]() |
| मनमोहक सिरुबारी |
सिरुबारी ।
अर्थात् नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ ।
पछिल्लो समय आन्तरिक पर्यटक बनेर नेपालभित्रकै विभिन्न ठाउँहरुमा घुम्ने क्रम बढ्दो छ । नेपाल घुम्न विदेशी पर्यटक बढिरहेका बेला आन्तरिक पर्यटक बनेर आफ्नै ठाउँ घुमौँ भन्ने लाग्यो । यसअघि पनि म नेपालकै विभिन्न ठाउँहरुमा साइकलबाट रोमाञ्चक यात्रा गर्दै आइरहेको थिएँ । यसपटक भने साइकल मै सिरुबारी पुग्ने हुटहुटी जाग्यो मनमा । र तय भयो सिरुबारीको यात्रा ।
यात्रा टोलीमा नेपाल स्वयंसेवी रक्तदाता समाजक कास्कीका अध्यक्ष तिर्थराज अवस्थी, उपाध्यक्ष जीतेन्द्र मान शाक्य सहित म पनि थिएँ । ‘रक्तदान जीवनदान’ तथा ‘स्वास्थ्य वातावरण र पर्यटनका लागि साइकल’ सन्देश लिएर बिहानको चिसो मौसमलाई बेवास्ता गर्दै स्याङ्जा नौडाँडामा खाजा खान बिसायौँ ।
त्यहीँबाट पहाडको कच्ची बाटोको यात्रा पनि आरम्भ भयो । सेतीदोभान पुग्दा नपुग्दै पसिनाले शरीरका कपडा लुछुप्प भिजिसकेका थिए । आफ्नै शरीरबाट पसिनाको दुर्गन्ध ह्वास्स नाकसम्म आएर बिझाउँथ्यो । हामीले जाडो छेक्न लगाएका सबै न्याना ज्याकेटहरु उतार्यौँ ।
निर्माणाधिन अवस्थामा रहेको बाटोले हामीलाई उकालोतिर तानिरहेको थियो । उकालो खलखली पसिना चुहाउँदै, बाटो बनाइरहेकाहरुसँग पानी मागेर प्यास मेट्दै, कहिले बाटोमा भेटिनेहरुसँग भलाकुसारी गर्दै त कहिले हाँसो ठट्टामा रम्दै तीन घण्टाजति साइकलमा यात्रा गरिरहँदा कतिबेला माथि डाँडामा पुगिएछ, पत्तै भएन ।
शरीरमा थकान थियो । तर यो थकानको कुनै विस्मात थिएन । केही बेर त्यही डाँडामा सुस्ताइवरि फेरि ओरालो झर्याैं ।
बाटाहरु सबै एकैनासका थिएनन् । कतै उकालो त कतै ओरालो । कतै सजिलो, कतै अप्ठ्यारो । कतै तेरपाएँ, कतै भिरालो । यिनै फरकफरक बाटामा साइकल कुदाउँदै अबेर ४ बजे मात्रै हामी सिरुबारी पुग्याैँ ।
‘नेपालको पहिलो पर्यटन गाउँ सिरुबारी तपाईहरुको हार्दिक स्वागत गर्दछ’ लेखेको ठुलो बोर्ड अगाडि उभिएर साइकलसँगै आफ्नो तस्बिर लिँदा दिनभरको भोक, प्यास अनि थकान चटक्कै बिर्सन पुगेँ ।
चिटिक्क परेका ढुङ्गाका सिँढी । र यिनै सिँढीको बाटो । ढुङ्गाको बिसाउनी ढुङ्गाकै चौतारी । पहेलैँ फुलिरहेका तोरीका बारी । ढुङ्गेघर, ढुँगाकै गाह्रो । सफा । चिटिक्क ढुङ्गाले छापेका बाटामा साइकल डो¥याउँदै हिँड्यौँ । गाउँको प्रवेशद्धार मै हाम्रो स्वागतमा तम्तयार पर्यटन विकास समितिका संयोजक जुम गुरुङ दाई लगायत अन्य सबैलाई गुरुङ पोसाकमै देख्दा मन फुरुङ्ग भइगयो । अझ त्यसमाथि फुलमालाको स्वागत, न्यायो आतिथ्यतासँगै पस्किएका मुस्कानहरु विशेष थिए ।
गाउँमा यसरी पर्यटक जाँदा सबैजसो खुसी हुँदा रहेछन् । बालकदेखि बृद्धसम्म । त्यहाँ आएका साना फुच्चेहरुले हाम्रो साइकल आँगनसम्मै डोर्याउँदै पुर्याइदिए । थाकेको ज्यान बिसाउँदै तातो चिया मकै अनि आलुदमले पेट तताउँदा कम्ता आनन्द भएन !
![]() |
| मिष्ठान्न खाजा अनि चियाको चुस्की ! |
केहीबेरको विश्रामपछि म निस्किएँ, गाउँ डुल्न ।
छेवैको घरको पिँढीको भित्तामा झुण्डिएका थिए, स्व. पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालासँगै स्व. क्याप्टेन रुद्रमान गुरुङ । गुरुङ तिनै व्यक्ति हुन्, जसले नेपालकै ईतिहासमा पहिलो पल्ट ग्रामीण पर्यटनको सुरुवात गरेका थिए । त्यो पनि सिरुबारीबाटै ।
नेपालको ग्रामीण पर्यटनमा नबिर्सिइने गुरुङले, २०५४ सालमा आँफू बसेको घरमा नै पाहुनालाई आतिथ्यता पस्किएर एउटा दुर्गम गाउँलाई नेपालकै पहिलो पर्यटन गाउँ बनाउने श्रेय यदि कसैलाई जान्छ भने, केवल उनैलाई जान्छ ।
त्यसपछि म त्यहाँ रहेको एकमात्र गाउँफर्क आधारभुत प्राविका प्राचार्य, साथै युएनडिपि गरिबी निवारण समितिकी अध्यक्ष सावित्री गुरुङसँग भलाकुसारी गर्न उहाँकै घर पुगेँ । दाईभाइको परिवार पोखरा बस्न थालेपनि उहाँले गाउँमै बसेर शिक्षा, पर्यटन लगायत आमासमूहको उत्थान सँगै समग्र गाउँकै विकासमा गरेको योगदानको बारेमा सुन्दा मैले मुक्तकण्ठले प्रशंसा नगरिरहन सकिन ।
२०६२ सालमा गैरसरकारी संस्थाले प्रदान गरेको नमुना आमा समूुहको एकलाख पुुरस्कारसँगै घरेलु हस्तकलाको प्रशिक्षणमा उहाँ लगायत आमासमूह धेरै पटक सम्मानित र पुरस्कृत भएको रहेछ । होमस्टेले गुरुङ समुदायका महिलाहरुलाई मात्र उत्थान गरेन, त्यहीँ रहेका दलित महिलाहरुलाई सिलाई–बुनाई तथा घरेलु हस्तकला तालिम आदिमा सहभागी गराउँदै आर्थिक उन्नतिको बाटोमा अग्रसर गरार्ईरहेको कुरा सुन्दा सिरुबारी गाउँ पर्यटनमा जातीय वैमनस्यता र भेदभाव मुक्त नमुना माहोल पाँए ।
सिरुबारीमा खानाको पनि छुट्टै महत्व छ । त्यसरात खानामा भात, लोकल कुखुराको झोलिलो मासु, जैविक सागपात र अन्य परिकारहरु थिए । दाईहरु खाएर घुप्लुक्क सुत्नुभयो तर म भने साँस्कृतिक कार्यक्रममा सरिक हुन गुम्बा पुगेँ ।
चितवनको सहकारी संस्थाबाट पाल्नुभएका पाहुनाहरुको स्वागत पश्चात् त्यो रात ५५ पाहुना लगायत साँस्कृतिक पोशाकमा सजिएर आएका बाआमा, आमा समूह लगायत गाउँलेहरुले २ घण्टासम्म साँस्कृतिक कार्यक्रमले माहोल तताए । सिरुबारीका गीतसँगै दोहोरी अनि मौलिक नाचगानमा रमाएर अबेर १० बजे सबै आ–आफ्ना होमस्टेमा लागे । म पनि बसिरहेको होमस्टेमा फर्किएँ ।
‘ओम माने पेमे हुँ’ को मीठो धुनले मलाई ६ बजे नै निद्राबाट ब्यँुझाइदियो । होमस्टेका संयोजक जुम गुरुङ दाईले गाउँ बिफ्रिङ गर्न हामीलाई साथै लग्नुभयो । चिटिक्क परेका ४० घरधुरीमध्ये १९ वटामा होमस्टे सञ्चालनमा रहेछन् । सिरुबारी हामेस्टेका अवधारण कर्ता तथा ग्रामीण पर्यटनका नायक स्व. क्याप्टेन रुद्रमान गुरुङको शालिकसँगै रहेको सानो पार्कको अवलोकन गराउनुका साथै उहाँको योगदानको बारेमा पनि बताउनुभयो ।
गाउँमा केही समय अघि निर्माण गरिएको गुरुङ संग्रहालय, यससँगै रहेको पार्क पनि यहाँको अर्काे आकर्षणको केन्द्रबिन्दु हो, जहाँ गुरुङ जात–जातीका पुराना पोशाक, भाँडाकुँडा लगायत साँस्कृतिक र प्राचीन महत्त्वका सामग्रीहरु संरक्षित छन् । त्यसपछि दशैंमा टीका थाप्ने र बली चढाईने कोटघर, बौद्ध गुम्बा र सिरुबारी होमस्टेलाई अझ व्यवस्थापन गर्न स्थापित पर्यटन विकास समितिको कार्यालय र यसले निभाउने कर्तव्यहरुका बारे पनि थप प्रकाश पार्नुभयो ।
![]() |
| सफा चिटिक्क घर |
गाउँबाट करिब डेढ घण्टाको उकालोमा रहेको भ्यु टावरबाट सूर्याेदय र सूर्यास्तको मनोरम दृश्य हेर्दै गाउँलाई क्यामेरा र हृदयमा धित मरुञ्जेल कैद गर्न सकिन्छ । त्यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृङ्खलाहरु, पोखरा, पाल्पा, बाग्लुङ्ग, पर्वत, घान्द्रुकको मनोरम ठाउँहरु लगायत प्राकृतिक सुन्दरताको दृश्यहरु हेर्न सकिन्छ । पौराणिक महत्व बोकेको डहरे देउराली माईको मन्दिर पनि यहाँ पुग्दा हेर्न नछुटाएकै राम्रो ।
![]() |
| अध्यक्ष बुबा बबरसिङ गुरुङ |
२०५४ सालमा रुद्रमान गुरुङले सिरुबारीमा रोपेको होमस्टेको बिउ अहिले फैलिएर गोरखाको बारपाक, लाप्राक, लमजुङको घलेगाउँ, भुजङ तथा काउलेपानी, कास्कीको सिक्लेस, घान्द्रुक, ल्वाङ घलेल, कैलालीको भादा, मकवानपुरको चित्लाङ, इलामको अन्तु, तनहुँको बन्दीपुर, तनहुँसर, लगायत १५० बढी ठाउँमा सञ्चालन भएर मानिसहरुले प्रत्यक्ष लाभ लिइरहेका छन् ।
सिरुबारी होमस्टेका अध्यक्ष बबरसिङ गुरुङलाई नभेटी फर्कने कुरै भएन । सिरानमा भएकोले यस ठाउँलाई सिरुबारी भनिएको रहेछ । विगतलाई सम्झदै उहाँले भन्नुभयो– ‘स्विजरल्याण्ड पर्यटनको बारेमा ज्ञान भएकोले रुद्रमान दाईले पल्टनबाट हरेकपल्ट छुट्टीमा आउँदा सिरुबारीलाई नि पर्यटकीय गन्तव्य बनाउने योजनाहरु सुनाउँदा सबैले हावामा उडाइदिन्थे । नउडाओस पनि कसरी ! बत्ती, पानी, स्वास्थ्य–सञ्चार लगायत विकासको पूर्वाधार बिहीन स्याङ्जाको एक विकट अनकन्टार गाउँमा पर्यटक कसरी आउँछन् ? सबैको एउटै गुनासो हुन्थ्यो ।’
भारतीय सेनाबाट अवकास पाएपछि क्याप्टेन गुरुङले विकासका पूर्वाधारलाई जोड दिँदै उनी आफ्नै स्याङ्जा क्षेत्र नं. २ को सभासद भए । त्यतिबेलै हो उनले डेढ दशकअघि देखेको आफ्नो सपना साकार पारेको ।
पहिले–पहिले गाउँबाट २ घण्टा तल हेलुबाटै पाहुनाहरुको भारी बोकेर सुरुवात गरेको पर्यटन गाउँ पुग्न अहिले पाँचवटा फरकफरक बाटाहरु छन् । पक्की बन्दै गरेको पोखरा–नौडाँडा– बेजाङ्ग–सिरुबारीसम्मको ४५ कि. मी. बाटो हुँदै गाउँसम्म छोटो समयमा पुग्न सकिन्छ ।
जतिपनि पर्यकटहरु यस परिवेशमा रम्न आउँछन्, तिनीहरुलाई क्रमबद्घ रुपमा सबैको होमष्टेमा बाँडिदिँदा रहेछन् । थोरै पाहुना आउदाँ चाहिँ निम्न वर्गीय परिवारलाई नै प्राथमिकतामा राखेर अवसर दिने यहाँको चलनले जो कसैलाई सामाजिक सद्भावको पाठ सिकाउँछ ।
होमष्टेमा आफ्नै खालका खाजा, खानाको मेनु हुन्छ । चियाँसगैँ मकै, प्यानकेक, झिलिङ्गा कोदाको रोटी लगायत विभिन्न अर्गानिक परिकारहरुको स्वाद चाख्न सकिन्छ । तर (नारे पा) लोकल रक्सीको छुट्टै तिर्नुपर्दो रहेछ पाहुनाले ।
होमस्टेको अगुवा सिरुबारीको यस सफलता पछाडि सामाजिक एकता नै यसको खम्बा हो भनेर बुझ्न सकिन्छ । होमस्टे समुह, पर्यटन विकास समिति, आमासमूह, युवाक्लव लगायत सबै गाउँलेहरुको एकताको धरोहर हो सिरुबारी ।
सिरुबारी विशेषतः भारतीय र ब्रिटिस आर्मीको जागिरबाट अवकास प्राप्त भएकाहरुको गाउँ हो । युवाहरु विदेश पलायन छन् । बालबालिका पढ्नका लागि देश विदेशका विभिन्न ठाउँमा छन् । तर गाउँमा भने बुढापाका मात्रै भएको देख्दा कताकता मलाई दुःख पनि लागेर आयो ।‘पछिल्लो समयमा नयाँनयाँ ठाउँ घुम्ने, बुझ्ने अनि अध्ययन गर्ने परिपाटीको विकास भएको छ’ होमस्टेका अध्यक्ष बबरसिंह सुनाउँछन्– ‘कहिलेकाँही त १००/२०० पाहुनाहरु एकैदिनमा आइपुग्दा हामीलाई हम्मेहम्मे पर्छ । अफसिजनमा पनि दैनिक १०/२० जना आइरहन्छन् ।
सिरुबारीका गाउँलेहरु परम्परागत खेती नै गर्छन्, गाउँमा । मकै, कोदो, धान, गहुँ, आदि उत्पादन गरेर त्यसैको परिकार बनाई अर्गानिक परिकार पाहुनालाई पस्कन्छन् । सिजनमा त्यहाँ पुग्ने पर्यटकले सागसब्जी, आलु, नास्पती, ओखर, बेलौती जस्ता फलफुलका स्वाद चाख्न पाउँछन् । चिया बगैँचा, सम्भव भए कफी खेती गरी कोसेली स्वरुप चिया कफी पाहुनालाई पोको पारिदिने सपना पनि त्यहाँका गाउँहरुसँग रहेछ ।
गाउँमा गाउँफर्क आधारभूत प्राविले गुणस्तरीय शिक्षा दिँदै आइरहेको छ । कक्षा ८ सम्म हाल १५० हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । त्यसपछि थप शिक्षाका लागि स्याङ्जा बजार वा पोखरा नै पुग्छन् । गाउँमा हेल्थपोष्टको पनि राम्रो व्यवस्था रहेछ ।
होमस्टेबाट उठेको केही रकम सामाजिक कार्यहरु जस्तै, बाटोघाटो निर्माण, सरसफाई कार्यक्रम, बाजागाजा खरिद गर्नका साथै संग्रहालय, पार्क व्यवस्थापनमा खर्चँदा रहेछन् गाउँलेहरु । अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएको सिरुबारीले अझ सञ्चारको दुनियासँग प्रत्यक्ष रुपमा जोडिन फ्रि वाईफाइको समेत योजना गरिरहेका छन् । मौलिक नृत्य मारुनी, सोरठी र सालैजोलाई पस्कन सकै अझ सुनमाथि सुगन्ध थपिन्छ भन्ने मलाई लाग्यो ।
अनकन्टार, कुनै पुर्वाधार नभएको सिरुबारीलाई यस अवस्थामा ल्याइपु¥याएर नेपालमै ग्रामीण पर्यटनको थालनि गर्ने नायक स्व. रुद्रमान गुरुङ हामीमाझ नभएपनि उहाँलाई हृदयदेखि नै सम्झिएँ । यहाँको सामाजिक एकताको भावना, पाहुनालाई गरिने आतिथ्यता, बिदाईको हार्दिकता, जोस र जाँगर देखेर म नतमस्तक भएँ । ग्रामीण पर्यटनको अध्ययनसँगै सिरुबारी बुझ्न एक पटक सिरुबारी पुग्नैपर्छ, जीवनमा ।
दिनहुँ जस्तो विभिन्न जिल्लाबाट होमस्टे तालिमका लागि भनेर आमा समूहहरु, शैक्षिक भ्रमणका लागि विद्यार्थीहरु, विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरुले सिरुबारी भरिभराउ नै भइरहन्छ । प्रत्येक होमस्टेले मासिक ४० देखि ५० हजारको आम्दानी गर्छ । यसरी गाउँलेलाई घरमै राजगार दिएर आत्मनिर्भर बन्न सिकाएको सिरुबारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रसिद्ध नाम हो ।
![]() |
| अन्तिम बिधाईको पल |
जतिदिन मैले सिरुबारीमा बिताएँ, ति दिनहरु मेरो जीवनकै स्वर्णिम दिनहरु हुन् । हाम्रो रक्तदान कार्यक्रमसँगै साईकल पर्यटनका लागि सिरुबारी यात्राका बारेमा तीर्थ दाईले केही शब्द राखे पश्चात गाउँलेको फुलमाला, बाजागाजासँगको नाचगानमा रम्दै बिदाईका हातहरु हल्लाउँदै छुटिँदा भने न्यास्रो लाग्यो । सिरुबारीको सुन्दरता, गाउँलेहरुको हार्दिकता, पारिवारिक आत्मियताको स्वाद लिन कुनैदिन म फेरी सिरुबारी पुग्नेछु ।
Thahakhabar.com मा प्रकाशित २०७४-११-२६





0 Comments