जगदुल्ला चिनाउने कस्सिएका 'झ्याँकाेटे'



गुगल म्याप’ हेर्दा नीलो रंगको अण्डाकार भागमाथि हाम्रो ‘लोकेसन’ देखायो। 

लेखिएको थियो— ‘जगदुल्ला ताल, डोल्पा।’ 


पानी जमेर ‘बरफ’ बनेको छ। ठमठम हिँड्न मिलेकै छ। हिउँले सेतै ढाकिएर ‘ताल’ हो कि जमिनको सतह छुट्याउन सक्ने अवस्था थिएन। फेरि, ‘गुगल म्याप’ले भनिसकेको छ— ‘जगदुल्ला तालमाथि तिमी उभिइरहेका छौ।’


तालको ठीक बीच भागमा हामी निस्फिक्री रमाइरहेका थियौं।

‘यात्रा जति कठिन हुन्छ, त्यति नै यादगार स्मरणीय बन्छ’— कतै सुनेको थिएँ।

सहज ठाउँमा, सजिलै यात्रा गर्नुभन्दा दोब्बर मज्जा मैले ‘जगदुल्ला ताल’ पुग्दा गरें।


नाकै ठोकिने उकालोमा तपतप पसिना चुहाउँदै साइकल बोकेर ‘जगदुल्ला ताल’?

ओहो! 


कम्मर कम्मरसँग सेताम्य हिउँले ढाकिएका फाँटहरू छिचोल्दै गन्तव्य पुग्दाको सुखानुभूति।

कठ्याङ्ग्रिदो चिसोलाई बेवास्ता गर्दै हिउँ माथि साइकल कुदाउँदाको अनूभव, साँच्चै बयान गरि नसक्नुको छ।


करिब ४७०० मिटरको उचाइँमा अवस्थित डोल्पाको ‘जगदुल्ला ताल’को प्रचारप्रसारका लागि साइकल यात्रामा निस्किएका साइकले अभियन्ता ‘भाष्कर बस्नेत’ उनकै झ्याकोट गाउँमा भेट भयो। अनि, त देश चिन्न हिँडेको म र उनी ‘जगदुल्ला ताल’तिर लाग्यौं।


खासमा, म दुई महिने मिसन ‘एकल कर्णाली पदयात्रा’मा निस्किएको थिएँ। पदयात्राको २६ औं दिन भाष्कर भेटिए। मुस्ताङको ‘कागबेनी’बाट पैदलै २६ दिनमा म डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका, झ्याकोट गाउँमा पुगेको थिए।

साइकलले जोडेको सम्बन्ध हो— भाष्करसँग। साइकलमा हामी लुम्बिनी पुगेका छौँ । केही वर्ष अघि सिन्धुलीगढी पनि पुगेका थियौँ। पोखरा र काठमाडौंका कति डाँडाकाडा साइकलमै नापिसकेका छौँ। तर, ‘जगदुल्ला ताल’ जस्तो हिमाली भेगमा साइकल कुदाएको प्रत्यक्ष देखेको भने पहिलो अनुभव बन्यो। 


तिहारले ‘झ्याकोट’ गाउँलाई छपक्कै छोपेको थियो। घर चट्ट पारेर सिँगार्नेदेखि बाटाघाटा सरसरफाईसम्म निकै चटारो थियो। म भने पाहुना बन्न पुगेको थिएँ। 

आँगन, करेसाबारी अनि बाटो वरपर सयपत्री, मखमली फूलहरु ढकमक्क फुलेका थिए। बिहान घाम उदाएदेखि घाम नअस्ताउँदासम्म आँखै अघि हिमालको दृश्यपान बडो अवस्मरणीय छ। तिहारको झिलीमिलीले गाउँको सुन्दरतामा ‘कोरीबाटी’ गरिदिएझैँ लाग्थ्यो।


म त्यो गाउँको नयाँ मान्छे। 

भाइटीकाको दिन। 

आकाश छ्याङ्ङ खुलेको थियो। झ्याकोट गाउँ नजिकै भाष्करकी बहिनीको गाउँ रहेछ। टीका थाप्न हामी उनकी बहिनीको घरतिर लाग्यौं। 

झ्याकोट गाउँ नजिक रहेका थापा गाउँ, गैरी गाउँ र काइ गाउँ पनि सुन्दर देखिन्थे।


चाडबाडमा टाढा हुनु। नातागोता, आफन्तजन भेट हुनु भन्छन्। तर, म भने देश चर्हादै नयाँ सम्बन्ध गाँस्दै थिएँ। नौलो ठाउँमा बहिनीको हातबाट टीका लगाएँ। 

बहिनीले आफ्नै दाइलाई जस्तै माया मानेर टिका लगाइदिइन्। त्यहाँ मैले सम्बन्धको नयाँ परिभाषा भेटें।


साँझ अबेर झ्याकोट गाउँ फर्कियौं।

तिहार सकियो। यहीँ गाउँपालिकामा अवस्थित गुमनाम पर्यटकीय गन्तव्य हो, ‘जगदुल्ला ताल’। 


साँझ साथीसँग यहीँ ताल र सेरोफेरो बारे लामै गफगाफ भयो। अनि चार दिने जगदुल्ला यात्रामा निस्किने सुर कस्यौँ । म, भाष्करका दाजुभाइ र घोडावाल लाल चन्द मामासहित चारजना भएर ‘जगदुल्ला’ निस्किने भयौँ।




भाष्कर साइकलमै जान कस्सिए। त्यो चिसोमा साइकलमा तालसम्म पुग्नु चानचुन थिएन। उनले आँटिहाले। हामीले भने पैदल जाने निधो गर्यौं।

फरक — फरक याममा घुम्न निस्किँदा भिन्न भिन्न स्वाद भेटिन्छन्, यही यर्थाथमा विश्वास गर्ने भाष्कर जगदुल्ला ताल एकै वर्षमा कैयौं पटक पुगेका छन्।


धार्मिक, आध्यात्मिक र जैविक विविधताले सम्पन्न ‘जगदुल्ला ताल’को प्रचारप्रसारमा लाग्दा उनले कैयौँ जोडी जुत्ता फटाए। स्थानीय सरकारदेखि प्रदेश सरकारका विभिन्न कार्यालय धाए। तालको प्रचारप्रसार र पर्यटकीय गन्तव्य  विकासका एजेण्डा बोकेर कैयौंका ढोका ढकढकाउन पुगेँ।


तर बिडम्बना! न उनले साथ पाए न हौसला नै ! धेरै पटक रित्तो हात फर्केको अनुभव छ उनीसँग।


तर उनले हार मानेनन्। आफ्नै व्यक्तिगत खर्चमा सुर्खेतमा कोरोना महामारी अघि प्रदेश स्तरीय एकल फोटो प्रदर्शनीसमेत गरे। उनले कैद कर्णालीका जीवन्त तस्वीरमार्फत धेरैले कर्णाली चियाउन पाए। धेरैले उनको यो प्रयासलाई प्रशंसा गरे। उनमा थप हौसला भरिँदै गयो। आजसम्म उनी त्यही हौसला बोकेर लागिरहेका छन् —‘जगदुल्ला’ चिनाउन। 


कर्णाली प्रदेशका ‘फोक्सुण्डो’ र ‘रारा ताल’मा हुलका हुल पर्यटक पुग्छन्। ‘जगदुल्ला ताल’मा अझै किन पर्यटकहरू आउँदैनन्?

भाष्करलाई खड्किरहन्छ— ‘त्यता जसरी यता पनि पर्यटक कहिले आउलान्?’

भाष्कर त्यसै रोकिएनन्। 


आफ्नै ज्यानको बाजी लगाएर आँटेका थिए, ‘राइड टु जगदुल्ला ताल।’

बडो जोखिमपूर्ण छ तालसम्म पुग्ने बाटो। 

कल्पना गर्नुस् त, घोडा खच्चड हिँड्ने बाटो।

कतैकतै त नाकै ठोक्किने खाले उकालो थियो। साइकललाई पिँठ्यूमा बोकेर हिँड्दा थाक्नुपर्ने हो। तर, उनमा त्यो थकान पटक्कै देखिएन। 

‘साइकलसँग प्रेममा बाँधिएपछि त खुसी खोज्न अन्यत्र पुग्नै नपर्ने रहेछ,’ देशका कुनाकन्दरा साइकलमा नापिसकेका भाष्कर कुराकानीको मेलो सार्दै भनेका थिए, ‘नेपालको पूर्वदेखि पश्चिमसम्म धेरै ठाउँहरू साइकलमा पुगिसकेँ। तर पुग्नका लागि आफ्नै कर्णाली चोखै रहेछ। त्यसैले गुमनाम कर्णालीका पर्यटकीय गन्तव्य चिनाउन पछिल्लो समय कर्णालीमा केन्द्रित छु।’

कलकल बग्ने ‘जगदुल्ला नदी’को चिसो पानीले ऊर्जा भर्दै, रसिलो स्याउ टोक्दै

हामी माथिस्तिर उक्लिरह्यौं। 


खुट्टा अडिन नसक्ने बाटोमा साइकल?

साइकलमा उनलाई देख्नेहरू जिब्रो टोक्थे। 

‘साइकल त जगदुल्ला ताल पुग्न सक्छ भने हिँडेरै हामी किन नपुग्ने?’, उनीहरू सोच्दा हुन्। 

हो, भाष्कर पनि यहीँ सन्देश साझा गर्न हिँडेका थिए। पर्यटक माझ पुर्याउन उनले यो दुस्साहस गरे।

झ्याकोट गाउँबाट सुरू भएको यात्रा ‘हुरीकोट’ कटेर उकालो लाग्यो। ओखरका बडेमानका रूखहरू भएका जंगल छिचोल्दै अघि बढ्यौं। जगदुल्ला नदी छिनछिनमै तर्दै थियौं। 

त्यहाँका काठे पुल पनि कम्ता कलात्मक थिएनन्।

माथि पुलबाट निराकर ‘जगदुल्ला नदी’ नियाल्दा त्यो उकालो बाटो सजिलै उक्लिन्छुझैं लाग्थ्यो। 

पहिलो दिनको हाम्रो गन्तव्य ‘टाङटुङे ओढार’ बन्यो। 

गाईवस्तु लिएर लेक उक्लँदा गोठालाहरू रात काट्ने ठाउँ रहेछ त्यहाँ। ‘यार्सा’ बटुल्न ‘जगदुल्ला सेरोफेरो’ उक्लदाँ बर्खामा त्यहीँ ओढारमा गाउँलेहरू बास बस्दा रहेछन्। 




ओढारमुनि हामीले ‘टेन्ट’ टाग्यौं। 

दाउरा बटुलेर बेलुकाको खाना पकायौं। आगोको रापमा मार्सी चामल र सिमीको दालको स्वाद कति मिठो थियो! स्वाद चाख्न त तपाईं पनि एकफेर ‘जगदुल्ला’ पुग्नैपर्छ।

दिनभरको थकान भागिसकेको थियो।

निकैबेर कुराकानी गरेर हामी त्यो रात निदाएछौँ।

बिहान ठिर्‍याउने चिसो थियो। 


छेउमा कलकल बगिरहेको ‘जगदुल्ला नदी’को मधुर संगीतले हामी तृप्त भयौं। सामान ‘प्याक’ गरेर हामी बिहानै उकालो लाग्यौं। 

मुस्किलले दुई पैताला अडिने गोरेटोमा भाष्करको साइक्लिङको कौशलता आरिस लाग्दो थियो।


‘महंगो साइकल भएर मात्र हुँदैन, साइकल कुदाउने कला र सीप पनि चाहिन्छ,’ स्याँस्याँ र फ्याँफ्याँ गर्दै हिँडिरहेका हामीलाई हेरेर उनी भन्थे।

धेरै ठाउँमा त साइकल काँधमै बोकेर उकालो लाग्थे उनी।

शरद ऋतुले आफ्नै विशेष सुन्दरता बोकेको हुन्छ। हिउँले ढाकेका हिमालहरू। झरेर बाटैभरि भएका पहेँलै पातहरू। पाइला पाइलामा देखिने दृश्यले मन तृप्त पार्थे। पातविहीन ठडिएका नाङ्गा रूखहरु कुनै चित्रकारले क्यानभासमा उतारेको चित्रझैं देखिन्थे। 


‘फरक फरक याममा यात्रा गर्दा जीवनका फरक रंगहरूसँग रंगीन प्रेरणा मिल्छ,’ भाष्कर उस्तै मीठा कुरा पनि गर्दै बाटो काट्न ऊर्जा थप्थे। केही महिना अघि रूकुमकी सिर्जना ओलीसहितको समूह जगदुल्ला आएको रहेछ। त्यतिबेला उनीहरूले तयार पारेको ‘युट्युब भिडियो’ करिब ७ लाखले हेरेका छन्।

‘त्यस भिडिओले जगदुल्ला चिनाउने हाम्रो मिसनलाई थप हौसाएको थियो,’ उनी भन्दै थिए। 


जति उचाइ बढ्दै गयो। त्यति नै खुसीको उचाइ चुलिँदै थियो। हातैले छोइएला जस्ता हिमालहरू हेर्दै म रमाइरहेको थिएँ। 

टाङटुङे ओढारबाट पाँच घन्टा उकालो लागेपछि अलि समतल परेको ‘तुङतुङ पाटन’ पुग्यौं। करिब ४ हजार मिटरको उचाइमा अवस्थित यो पाटन बर्खायाममा भेडी गोठहरूले भरिन्छन्। फाँटमा अझै दुइटा चौरी गोठहरू थिए। तिहार मनाउन गाउँ झरेका गोठालाहरू भने अझै गोठ उक्लेका थिएनन्। हामी दुई गोठहरूमध्ये एक गोठमा दुई रात काट्ने भयौँ।


पटन पुगेर झोला बिसाउँदा मध्यान्हको एक बज्दै थियो। 

भोक, थकान र प्यासले एकैचोटी च्यापेको थियो। सबैले काम बाड्यौँ। म ग्यालेन बोकेर पानी लिन खोल्सा कुदें। मामा झिँजा बटुलेर आँगो बाल्न थाल्नु भयो। भाष्करका दाजुभाइको जिम्मामा तरकारी केलाउने र काट्ने पर्‍यो। खाना खाएर हामी फाँट घुम्न निस्कियौं । 

बैशाख लागेपछि लाल चन्द मामा गाईभैसी धपाएर यतै उक्लन्छन्। सिजनमा यार्सा बटुल्ने र अन्य समय गोठ धन्दा गरेर उनी पाँच महिना लेकमै बिताउँद रहेछन्।


दसैं अघि गाउँ झर्दा रहेछन्।

बिहानै सखरै ताल उक्लने योजना बुन्दै हामी दोस्रो रात त्यहीँ गोठमा बितायौं।

यात्राको तेस्रो दिन। 

‘जगदुल्ला ताल’ पुगेर बास बस्न त्यहीँ फाँट फर्कनुपर्ने थियो । बिहानै ७ बजे फाँट छोड्ने तरखरमा थियौं ।

उकालो लागेपछि उचाइसँग चिसो पनि बढ्दो थियो। 

बाटोभरि थुप्रिएका हिउँले माथि अझै चिसो बढ्न सक्ने संकेत दिन्थ्यो। हिउँमा पनि भाष्करले साइकल गुडाउन छाडेनन् । कतै कतै साइकलको पाङ्ग्रा चिप्लिएर उनी झन्डै पछारिन्थे। उत्तिखेरै सम्हालिन्थे। 

बाफ्रे! जहातहीँ हिउँकै साम्राज्य। 


थकाई मार्ने ओभानो ढुंगा कतै थिएन। त्यसमाथि झोला जति उकालो उक्लिदै जान्थ्यौँ, त्यति त्यति गह्रौं बन्दै जान्थ्यो। 

घडीमा ११ बज्दै थियो। कस्सिएर हिँडे १ घण्टामा ‘राक्क्ष दह’ पुग्नेपर्ने थियो तर पाइलाहरु माथि सर्न मान्दैनथे। माथि उक्लिन ज्यानलाई सकस भएको थियो।

माथिबाट खसेका हिउँ पहिरोसँगै ठूल्ठूला चट्टानहरु ठाउँठाउँमा थुप्रिएका थिए। त्यसैले हामीलाई हिँड्न धौ धौ भइरहेको थियो। भाष्कर भने साइकल बोकेर हिँडिरहेका थिए। 




ताल पुग्नु अघिको अन्तिम उकालो। 

मोबाइलमा ‘अल्टिमिटर’ले उचाइ ४६०० मिटर देखाउँदै थियो। श्वास फुलेर पाइला सार्नै गाह्रो भइरहेको थियो। 

अन्ततः ‘जगलुल्ला ताल’ पुग्यौं।

‘यो पो हो त स्वर्ग !’ 

म बेस्सरी चिच्याएँ। 

बर्खामा पिँधसम्म देखिने निलो ताल, अहिले पानी जमेको थियो। जमेको तालमाथि ठमठम हिँड्न मिल्थ्यो। 
हामी पानी जमेको ‘जगदुल्ला ताल’माथि बेस्सरी उफ्रियौँ। 

सुरताल बिना नै नाच्यौँ। 

भाष्करको साइकलमा चार, पाँच फन्को मार्यौं। 

खासमा, को के गरेर खुसी हुन्छ?


हामीले त्यही गर्‍यौं।

पोज पोजका फोटो, भिडियो  पनि खिच्यौं। 

हामी सक्दो रमाइरहेका थियौं। 

झल्यास्सँ,‘गोक्यो ताल’मा विदेशी पर्यटकले ‘स्किइङ’ गरेको सम्झिएँ। पानी जमेर ‘स्किइङ’ गर्न जगदुल्लामा पनि मिल्ने हो। 

कुनै दिन विदेशी पर्यटकहरु तालमाथि ‘स्किइङ’ गर्दै रमाउँदै ‘कासी डाल्फा हिमाल’ हेर्न आउँछन् होला! मैले भाष्करलाई सुनाएँ।

‘केही पर्यटक आइस स्केटिङमा रमाइरहेका, केही तालमाथि मस्त स्किङ गरिरहेका त केही हाइ एल्टिच्युड साइकलिङ प्रतियोगितामा पाउदानी मारिरहेका।

हजारौं पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावनाहरु बोकेको छ जगदुल्ला सेरोफेरोले,’ भाष्करको सपना अझ रहरलाग्दो सुनिन्थे। तर, वास्तविकता भिन्न थियो। ‘जगदुल्ला ताल’ अझैँ गुमनाम छ।




‘जगदुल्ला ताल’को बेग्लै इतिहास छ। 

तालकै किनारमा चिया उमाल्यौं। चियाको चुस्की लिदै भाष्कर बखान गर्दै थिए, ‘यो आफैंमा एक पवित्र तीर्थस्थल एवं धार्मिक गन्तव्य हो। साउन पूर्णिमाका दिन यहाँ तीर्थ भर्न डोल्पा जिल्लाका मात्र नभई विभिन्न जिल्लाका तीर्थालुहरु आउँछन्।’


‘गाँचेन मेरी राल्वा’ हिमालको काखैमा अवस्थित यस पवित्र तालबाट बगेको जगदुल्ला नदीले कैयौं भूभागहरु सिञ्चित गरेको छ।

यही तालमा आश्रित छन् कैयौं जगदुल्लाबासी।


यो सेरोफेरोेका कैयौँ गुफामा विद्धान लामा गुरुहरुले ध्यान, तपस्या गरेका थिए।

‘मानसरोवर कैलाश’ र ‘जगदुल्ला ताल’लाई समान रुपले लिने जनविश्वास अझै छ। त्यसैले यहीँ ताल हुँदै माथि लाग्ने बाटोलाई स्वर्ग जाने बाटोका रुपमा विश्वास गरिँदो रहेछ।


भाष्करले सिभिल इन्जिनियरिङमा तीन वर्ष बालाजु इन्जिनियरिङ कलेजमा पढे।  अहिले भने पर्यटन विषयमा उच्च शिक्षा हासिल गर्ने र यसै विषयमा रहेको ‘प्यासनलाई प्रोफेसन’मा बदल्ने उनको सपना छ। 

‘जगदुल्ला ताल र सेरोफेरो समेटेर बुकलेट र ब्रोसर’ तयार पार्न सके पनि धेरै हुन सक्थ्यो झैँ लागेको छ, भाष्करलाई। ‘नेपाल पर्यटन बोर्ड’, ट्रेकिङ कम्पनी एवं विभिन्न पर्यटनसँग आवद्ध संघसंस्थालाई ‘जगदुल्ला ताल’सम्म आउन निमन्त्रणा गरेर ताललाई पर्यटकीय गन्तव्यका रुपमा ‘ब्रान्डिङ’ गर्ने उनको सोच रहेछ।


यी सपनाहरु यर्थाथमा बदल्न सके जगदुल्ला गाउँपालिकाको मात्र नभई सिंगो कर्णाली प्रदेशको मुहार फेरिन्छ नै!

डोल्पामा लुकेर रहेका कैयौं यस्ता पर्यटकीय गन्तव्यहरूको खोज, अध्ययन र प्रचारप्रसार गर्न सकिए दुर्गम डोल्पा जिल्लाले कोल्टे फेर्नेमा कुनै दुई मत छैन। पर्यटकलाई तालसम्म पुग्नका लागि पदयात्राको तालिका गाउँपालिकासँग सहकार्य गरेर तयार पार्दै रहेछन् उनी। से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग अनुमति लिएर ठाउँठाउँमा टि हाउस र होटलहरु सञ्चालनमा ल्याइनुपर्छ। 

जगदुल्ला ताल र सेरोफेरो कुनै समय विश्व पर्यटन बजारमा नामी गन्तव्य बन्नेमा कुनै दुई मत छैन।


अभाव र गरिबीमा पिल्सिएका जगदुल्लाबासीले पनि देशी विदेशी पर्यटकलाई स्वागत गर्न पाउनेछन्। पर्यटन व्यवसायले उनीहरुको जनजीवन फेर्छ। जगदुल्लालाई विश्वले चिन्छ। त्यसदिन कर्णालीभर उनकै बाटो पछ्याउँदै कैयौं भाष्करहरु जन्मिसक्ने छन्। त्यहीँ दिन ‘समृद्ध कर्णाली’ को नारा साकार बन्नेछ।


जय कर्णाली! जय पर्यटन!


पहिलाे  पटक किन जगदुल्ला ताल अरूलाई चिनाउन सकिएन? प्रकाशित ।


Post a Comment

0 Comments